भैरहवा, १७ चैत । कृषि क्षेत्रमा व्यवसायिक सूचना प्रवाहलाई सहजीकरण गर्ने र सरकारी योजनाहरु किसानसम्म पुर्याउने उद्देश्यले रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन गरिएको छ । मंगलबार भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा किसान र कृषि व्यवसायीहरुको जिल्लास्तरीय संजाल गठन गरिएको हो ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख संयोजक र विज्ञ केन्द्रका प्राविधिक सदस्य सचिव रहने गरी १३ सदस्यीय संजाल गठन गरिएको छ । विज्ञ केन्द्रका प्रमुख डा.परवेज आलमकाअनुसार पशुपन्छी पालक किसान र व्यवसायीलाई समेटेर संजाल बनाइएको हो । संजालको सदस्यमा मत्स्यपालकबाट दिवाकर भुसाल, दुग्ध सहकारीबाट लेखनाथ पाण्डे, व्यवसायिक कृषकबाट यज्ञमूर्ति खनाल र निजी डेरीबाट दयानिधि गैरे सदस्य चयन हुनुभएको छ ।
यस्तै, बाख्रा व्यवसाय उद्यमीबाट सुनिल अर्याल, घाँस विकास क्षेत्रबाट प्रेमसागर पौडेल, कुखुराको ह्याचरीबाट बासु बडाल, बंगुर व्यवसायीबाट महेश बुढाथोकी, भैंसी पालन व्यवसायीबाट रामअवतार यादव, लुम्बिनी विशिष्टिकृत सहकारी संघबाट ज्ञानु पौडेल र पाराभेटबाट उत्तम नेपाल संजालको सदस्य चयन हुनुभएको छ ।
कृषि क्षेत्रमा लागेका सबै व्यवसायीको प्रतिनिधित्व हुने गरी संजाल गठन गरिएकाले कृषि तथा किसानका समस्या पहिचान, समाधान, सरकारी योजना कार्यान्वयन र किसानसम्म पुर्याउन सहयोग पुग्ने आलमले विश्वास व्यक्त गर्नुभयो । ‘कहिलेकाँही कृषक लक्षित कार्यक्रम गर्दा वास्तविक किसानले थाहै नपाउने अवस्था पनि छ, यसलाई सहजीकरण गर्न र हाम्रा किसान लक्षित कार्यक्रम सबै ठाउँमा पुर्याउन यो संजालले काम गर्नेछ’, आलमले भन्नुभयो –‘किसानका समस्या भए संजालमार्फत् हामीलाई जानकारी गराइन्छ र हामीले समाधानमा सहयोग गर्छौ ।’
कतिपय अवस्थामा सरकारी योजनाबारे किसानले जानकारीसमेत पाउँदैनन् । यसले गर्दा वास्तविक किसानले सरकारी सुविधा र योजनाबाट बञ्चित हुनुपरेको छ । संजालले विज्ञ केन्द्र र किसानबीच पुलको काम गर्ने भएकाले सहजीकरणमा सहजता प्रदान गर्ने बाख्रापालक किसान प्रेमसागर पौडेलले बताउनु भयो । जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्माले संजालले किसानहरुबीच एकीकृत भावनाको विकास गर्न र व्यवसायमा आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
