बुटवल, १५ चैत । आज रङहरुको पर्व होली मनाइदै छ । फागुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने गरिन्छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश दिने होली अर्थात फागु पर्व परम्परागतरुपमा विभिन्न रङ र लोला खेलेर मनाउने प्राचिन परम्परा छ । होली पर्व आज हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइने भएपनि भोलि सोमबार तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइन्छ । नेपालका सबै जात जातिले होली पर्व मनाउने गर्दछन् ।
यो बर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै सरकारले ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्र होली पर्वमा रङ खेल्न आग्रह गरेको छ ।
पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्नीमा जलेर भष्म भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । त्यसै बेला देखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतिक बनेकी होलिका मारिएको उपलक्षमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।