रामकुमार श्रेष्ठ
नवलपरासी, ९ चैत । पश्चिम नवलपरासी ठुठीबारी महेशपुर नाका पूर्ण रुपमा नखुल्दा नेपाल भारत आउन जान सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतबाट नेपाल आउने सवारी साधनलाई मात्र नेपालतर्फ आउन र भारत फर्कन दिने तर नेपालका सवारी साधनहरुलाई भारततर्फ जान र नेपालीहरुलाई समेत भारततर्फ जान नदिंदा सास्ती भएको हो ।
नेपाल भारत सीमा क्षेत्रका बासिन्दा बीच रोटीबेटीको सम्बन्ध समेत रहेका कारण सीमा वारी पारी कोही आफन्त विरामी हुँदा, निधन हुँदा समेत पारिवारिक भेटघाटमा जान समेत नपाइएको स्थानीय रामनरेश यादवले गुनासो गर्नुभयो । कतिपय भारतीय सुरक्षाकर्मीलाई छलेर खेतको बाटो आउने जाने गर्दा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले देखे रोकि हाल्ने गरेको अर्का स्थानीय रामचन्द्र उपाध्यायले बताउनु भयो ।
कोरोनाका कारण लकडाउनका बेला बन्द गरिएका नेपाल भारत सीमा क्षेत्रका नाकाहरु कतिपय खुलिसकेको भए पनि पश्चिम नवलपरासीको ठुटीबारी महेषपुर नाका अझै पूर्ण रुपमा खुलेको छैन ।
विदेशबाट भारतीय बाटो प्रयोग गरेर आएका नागरिकहरु समेत कागजी प्रक्रिया पुरा गरी पूर्व स्वीकृति लिएर मात्र जाने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनु भयो । पाठकका अनुसार नाका पूर्ण रुपमा खोल्नका लागि माग गर्दै माथिल्लो निकायमा अनुरोध गरिसकेको भए पनि अझै पूर्ण रुपमा खोल्न कुनै निर्देशन तथा निर्णय आएको छैन ।
भारतमा पढने विद्यार्थी, विरामी मान्छेलाई औषधि उपचार गराउन, विवाह आदि कार्यमा भेट गर्न जान भने छुट दिइएको ठुठीबारीका एसएसवि प्रमुख नवकुमार सिंहले जानकारी गराउनु भयो ।