बुटवल, ९ चैत । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले संघीय राजधानी काठमाडौंमा एकै दिन पांच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आइतबारदेखि औपचारिकरुपमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेलले संघीय राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा औपचारिक उद्घाटन गर्नुभयो । योसँगै बैंकको शाखा संख्या ८० पुगेको छ । अध्यक्ष पौडेलले शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई प्राथमिकता दिएपनि राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै संघीय राजधानीसहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा रहेको बताउनुभयो । बैंकको शाखा सञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको उहांले बताउनु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर आफ्नो ब्राण्ड जोगाउंदै संघीय राजधानीमा पनि आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्य सहित डिजिटल बैकिङलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने बताउनु भयो । बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन, ३० अर्बभन्दा बढी कर्जा प्रवाह र ४ लाखभन्दा बढी ग्राहक भएको जानकारी दिनुभयो ।