बुटवल, ६ चैत । ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिय यातायात क्षेत्र धरासायी हुने बताएका छन् । उनीहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुंदा यसमा आउने कुनैपनि प्रकारका समस्याको समाधानकालागि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का नव निर्वाचित अध्यक्ष दधिराम खरेलले राज्य यातायात क्षेत्रमा गलत दिशामा अगाडी बढेको घटनाक्रमले पुष्टि गरेको र अब यातायात क्षेत्र यस्तै अवस्थामा नरहने दावी गर्दै वर्तमान सरकारले सर्वहारा वर्गको घाँटी रेट्ने काम गरेको आरोप लगाउनु भयो । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रवार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष खरेलले यस्तो आरोप लगाउनु भएको हो ।
कार्यक्रममा नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पाखेरलले राज्यका नीति र व्यवहारले व्यवसाय चलाउन निकै कठिन भएको भन्दै त्यसलाई हटाउन यातायात तथा ढुवानी व्यवसायी आन्दोलनमा उत्रनुपर्ने धारणा राख्नु भयो ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीका निवर्तमान अध्यक्ष कमल घिमिरेले व्यवसायलाई मजबुत र मर्यादित बनाउन व्यवसायीक एकता जरुरी हुने बताउदै व्यवसायीक संघ संस्थावीचको सहकार्य आजको आवश्यक्ता भएको उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का नव निर्वाचित सञ्चालकहरुलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो ।