भैरहवा, १ चैत । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ ।
राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त भवन आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
१५ लाखको लागतमा निर्माण भएको भवनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गर्दै राउण्ड टेबलले विभिन्न किसिमका सहयोग पु¥याउँदै अत्यन्त रचनात्मक र महत्वपूर्ण काम गरेको बताउनुभयो ।
उहांले राउण्ड टेबलले विद्यालयको भवन निर्माण गरेसंगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिका भित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै दुईकोठे भवन निर्माण गर्नु प्रशसंनीय रहेको प्रजिअ घिमिरेले बताउनुभयो ।
लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष सौरभ अग्रवालले राउण्ड टेबल इन्टरनेशनल डे को अवसर पारेर निर्माणसम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको बताउनु भयो ।
राउण्ड टेबल इन्टरनेशनल एसिया प्यासिफिक चेयरम्यान सिद्धान्त गुप्ताले राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले उत्कृष्ट कार्य गरेको बताउनुभयो । राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपाल लुम्बिनी राउण्ड टेबल–१६ को साथमा रहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउण्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउदै आगामी दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गर्नुभयो । राउण्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउण्ड टेबल क्लवबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कार्य गरिरहेको बताउनुभयो । उहांले वार्षिक २० हजार विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा संयोजक अभिषेक बेरिवाल र विद्यालयका पूर्व प्रधानाध्यापक हेमन्त अधिकारीले पनि आआफ्ना भनाई राख्नुभएको थियो । २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन् ।