नवलपरासी, २९ फागुन । पूर्वी नवलपरासीमा शुक्रबारदेखि १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको फाइनल खेलहरु कावासोतीमा भएको छ । पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित विनयी त्रिवेणी डाँडाजोरको मणिसंगम मावि जिल्ला प्रथम भएको छ । कावासोती १४ जनता मावि त्रिभूवनटारमा भएको फाइनल प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजत सहित द्वितीय भएका छन् । त्यसैगरी जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृतीय भएका छन् । प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाबाट पालिकास्तरको छनौट खेलबाट विजेता र उपविजेता बनेकाहरुको सहभागिता रहेको थियो ।
शुक्रबार र शनिबारगरी दुई दिनसम्म चलेको प्रतियोगितामा जनता मावि बेलुवा २ स्वर्ण, २ रजत सहित चौथो, भानुदय नमुना मावि दुम्किबास २ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ, मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूल २ स्वर्ण, १ रजत र १ कास्य सहित छैठौं र सिद्धार्थ बोर्डिङ स्कूल २ स्वर्ण र १ कास्य पदकको साथमा सातौं भएको छ ।
कावासोती १४ त्रिभुवनटारमा रहेको जनता माविमा शुरु भएको
प्रतियोगिताको संघीय सांसद तिलक महतले खेल प्रशिक्षक सेतमान पुनलाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता २८ र २९ गते दुई दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य विष्णु लामिछाने, शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्णचन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, खेलाडी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यसैबीच अर्को बर्षको प्रतियोगिता मणिसंगम विद्यालयमा हुने छ ।
