बुटवल, २९ फागुन । रुपन्देहीमा खेलकुद गतिविधिमा क्रियाशिल लाफा समूह बुटवलले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई जना बिरामीलाई ५८ हजार ४० रुपैंयाँ आर्थिक सहयोग गरेको छ । लाफा समूह बुटवलले ब्लड क्यान्सर र मृगौला पीडित विरामी दुईजनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।
बिगत चार वर्ष देखि ब्लड क्यान्सरबाट पीडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समूहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४६ हजार पाँच सय ७० रुपैंयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समूहका सदस्य ३० बर्षिय रेम बहादुर ठकुरीलाई पनि समूहले नगद १० हजार ४ सय ४० रुपैंयाँ सहयोग गरेको छ ।
समूहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य बिपिन श्रेष्ठको जन्मदिनको अबसरमा दुईजनाले २० हजार रुपैंयाँ सहयोग गरेका थिए । त्यस्तै समूहका अन्य सदस्यबाट आर्थिक सहयोग जुटाइ सहयोग गरेको समूहका संयोजक ज्ञानु सारुले जानकारी दिनुभयो । श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समूहले २२÷२२ हजार रुपैंयाँ आर्थिक सहयोग गरिसकेको र थप सहयोग जुटाइदिन समूहका संरक्षक बासुदेब लामिछानेले आग्रह गर्नुभएको छ । समूहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समूहका अध्यक्ष तारासिंह रेश्मीले बताउनुभयो । समूहले विभिन्न सामाजिक काम संगै सामाजिक उत्तरदायित्व अन्तर्गत बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ ।