बुटवल, २७ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । बुधबार साँझ एक समारोहका बिच नवनिर्वाचित अध्यक्ष पदाधिकारी सहित कार्यसमिति सदस्यहरुलाई पदस्थापना गराईएको हो ।
संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा उज्ज्वलप्रसाद कसजु, वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराई, कोषाध्यक्षमा नविनप्रसाद श्रेष्ठ र सचिवमा मुक्ति अधिकारी निर्वाचित हुनु भएको थियो ।
त्यस्तैगरी एशोसियट सदस्यमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल तथा ४ बाणिज्य सदस्य पदमा काँशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्वाचित हुनु भएको थियो । त्यस्तैगरी ७ खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ तथा दुई महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान निर्वाचित हुनु भएको थियो ।
नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त संघका कानुनी परामर्श दाता बाबुराम पाण्डेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुको साथै अध्यक्ष कसजुलाई सपथ ग्रहण गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्षले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराउनु भएको थियो ।
सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुलुकको अर्थतन्त्रको सुदृढीकरणको लागि सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले औद्योगिक बिकासको लागि निजी क्षेत्रले सुरक्षित लगानीको वातावरण खोज्नु स्वभाविक भएको बताउँदै त्यसमा प्रशासनको तर्फबाट आफूले वातावरण बिग्रिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिबिधिलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले आफ्नो कार्यकालमा उद्योगी व्यबसायीका व्यबसायिक समस्या समाधानको लागि पहल पैरवी गर्दै कृषि सहितका तीन वटा मेला, दशैं बजार सञ्चालन गर्न सफल भएको र कृषिमा आधारित बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल १५ मा ७ कठ्ठा जग्गा खरिद समेत गरिएको जानकारी गराउँदै नवनिर्वाचित टिमले अगाडि सारेका काममा आफ्नो पूर्ण साथ रहने र अधुरा कामलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
त्यस अवसरमा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाली काँग्रेसका बुटवल नगरसभापति खेलराज पाण्डे, समाजसेवी रामेश्वरप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव बिमलराज भट्टराईले गर्नुभएको थियो ।