बुटवल, २२ फागुन । रुपन्देहीमा आयोजित रोटरी हाफ म्याराथनको उपाधी भारतीय सेनाको गोरखा राइफल हैदरावादमा कार्यरत अनिश थापा मगरले हात पार्नुभएको छ । महिलातर्फको उपाधी भने दैलेख नौमूलेकी भावना शाहीले जित्नुभ एको छ । थापाले बुटवल पुष्पलाल पार्कदेखि भैरहवा बुद्धचोकसम्म २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधी चुमेका हुन् ।
थापाले उपाधीसँगै नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै शसस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् । उनले उपाधिसँगै नगद २० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
यस्तै, भारतीय सेनामै कार्यरत पाँचथरको हिलयाङ गाउँपालिका ५ का दीपक सुहाङले द्वितीय स्थान हासिल गरेका छन् भने शसस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत कैलालीको गोदावारी नगरपालिका ३ अत्तरियाका किरणसिंह बोगटी तृतीय भएका छन् ।
दोस्रो भएका सुहाङले उपाधीसँगै नगद ७५ हजार र तृतीय भएका बोगटीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
नेपाली सेनाको गोरख दल गणमा कार्यरत पाल्पाको तिनाउ गाउँपालिकाकी मिनिषा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा उक्त दूरी पार गर्दै द्वितीय भइन् भने बर्दियाको बारबर्दिया नगरपालिका २ की कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन् ।
रोटरी इन्टरनेशनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रिजन फाइभ अन्तर्गतका विभिन्न रोटरी र रोट्रयाक्ट क्लबहरूको सहयोगमा हाफ म्याराथन आयोजना गरिएको थियो । भारतीय सेना, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा देशभरका विभिन्न क्लब र संघसंस्थाका प्रतिनिधी गरी १ सय १६ जनाको सहभागिता रहेको थियो ।