बुटवल, १६ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले काठमाडौं उपत्यका बाहिर बुटवलमा पहिलो पटक आइतबार ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार कार्यक्रम गरेको छ । नेप्सेको आयोजना र एक्सिस कलेज जानकीनगर, रूपन्देहीको सहकार्य तथा लिन्च स्टक मार्केटको समन्वयमा कार्यक्रम भएको हो । सेमिनारमा नेपालको पूँजी बजारका ‘इस्यू एण्ड फ्याक्ट’ र ‘नेप्से अनलाइन ट्रेनिङ सिस्टम’ विषयका दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पूँजी बजारका ‘इस्यू एण्ड फ्याक्ट’ विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले नेपालको वर्तमान पूँजीबजारलाई अन्तर्राष्ट्रिय पूँजीबजारसंग तुलना गर्दै बजारमा वित्तीय साक्षर लगानीकर्ताको आवश्यकता रहेको बताउनुभयो । उहांले यसलाई विद्यार्थीहरुको सक्रिय सहभागिता मार्फत परिपूर्ति गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रवन्धक फुयालले नेपाली पूँजी बजारमा नयाँ संरचना तथा संस्थाहरुको सहभागिता अझै आवश्यक रहेकोले विद्यार्थीहरुका लागि थप रोजगारको क्षेत्र सृजना हुने बताउनुभयो । उहांले सानो लगानीले विद्यार्थीहरुलाई लगानी पोर्टफोलियो तयार गर्न सुझाव दिनुभयो । पूँजी बजारको लगानी जोखिम मुक्त नभई जोखिम युक्त भएकोले विस्तृत अध्ययनपछि मात्र लगानी गर्न फुयालले आग्रह गर्नुभयो ।
नेप्से अनलाइन ‘ट्रेनिङ सिस्टम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले नेप्सेको अनलाइन कारोवार प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पार्नुभयो । घिमिरेले सबै विद्यार्थीहरुलाई बजारमा उपलब्ध प्रविधि प्रयोग गर्दै सचेत भएर लगानी गर्न सुझाव दिनुभयो । बजारमा ‘टेक्नोफ्रेन्डली’ भएकोले आफुले पनि प्रविधि प्रयोग गर्न र अरूलाई पनि प्रविधिको प्रयोग गरेर बजारमा लगानी गर्न उहांले सुझाव दिनुभयो ।
सेमिनारमा एक्सिस कलेजका २ सय भन्दा बढी व्यवस्थापन संकायका विद्यार्थीहरुको सहभागिता रहेका थियो । कार्यक्रम एम्सिस कलेजका अध्यक्ष होमराज बस्यालको सभापतित्वमा भएको हो । सेमिनारमा विद्यार्थीले उठाएका प्रश्नको जवाफ नेप्सेका प्रवन्धक निरन्जन फुयाल तथा वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा एक्सिस कलेजका प्राचार्य रामप्रसाद अर्यालले कलेजले विषयवस्तु भन्दा बाहिरको विषयमा पनि ज्ञान बढाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कलेजका सञ्चालक गोपालप्रसाद पाण्डे, सह प्राचार्य घनश्याम उपाध्याय, प्राध्यापक जीवनकुमार पौडेल, अमित न्यौपाने, विष्णु ढुंगाना, प्राध्यापक विष्णु प्रसाद गैरेलगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।