बुटवल, १० फागुन । बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा बुटवल देबीनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ ।
प्रतियोगितामा कालिका मानव ज्ञान मावि कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदक २१ पटक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नबिन औद्योगिक मावि दोस्रो भएको छ । यस्तै न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति माविले ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।
विजेताहरुलाई मेडल, सिल्ड र प्रमाणपत्र वितरण गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरको समृद्धिका लागि खेलकुद पनि एउटा आधार रहेको भन्दै खेल पूर्वाधार विकास र खेलाडीलाई अवसरसहितको पहिचानका लागि विशेष कार्यक्रम बनाइएको बताउनुभयो ।
विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख सुवेदीले खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा नगरपालिका लागेको समेत प्रमुख सुवेदीले बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, शिक्षा समितिका सदस्य धनिश्वर गौतम, सामाजिक विकास समिति प्रमुख सीता थापा आचार्य, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सदस्य सचिव विष्णुहरी ज्ञवाली, सदस्य नविन थापा सारुलगायतले विजेतालाई बधाई ज्ञापन गर्नुभएको थियो ।
नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको खेल मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेका समितिका अध्यक्ष काउचाले जानकारी दिनुभयो । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दोलगायतका प्रतियोगिताहरु भएको सदस्य प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुगो लागेको थियो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी गराउनु भयो ।
(((((((((((((((