संसार पोष्ट
सैनामैना, ६ साउन । साउन महिनाको पहिलो सोमबार २० हजार बढी भक्तजनले पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्गमा जलार्पण गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले पहिलो सोमबार नै २० हजार बढी भक्तजनले मन्दिरमा जलार्पण गरेको र अर्को सोमबार भक्तजनको संख्या झनै बढ्ने बताउनु भयो ।
असार ३१ बाटै सुरु भएको श्रावणी मेला तथा बोलबम जलार्पण यात्राको सुरु दिनको सहभागिताबाटै उत्साहित भएका आयोजकहरुलाई साउनको पहिलो सोमबारले थप उत्साहित बनाएको मन्दिर व्यवस्थापन समितिका महासचिव प्रेम भुसालले बताउनु भयो ।
विहान ३ बजेदेखि नै भक्तजनहरुले बोलबम शिब ज्योतिर्लिङ्गमा जल चढाउने क्रम सुरु गरेको र त्यो क्रम दिउँसो ३ बजेसम्म पनि जारी नै रहेको थियो । भक्तजन आउने र जाने क्रम विहानैदेखि सुरु भएकोले पनि मन्दिरमा दर्शन गर्न र जल चढाउन धेरै लाईन वस्नु नपरेको भक्तजनको भनाई छ ।
पहिलो सोमवार नेपालका छिमेकी जिल्लाका साथै भारतवाट समेत भक्तजन पर्रोहा बोलबममा जल चढाउन मन्दिर आएका थिए । यसैगरी पर्रोहा बोलबम धाममा मेला हेर्न आउनको समेत चहलपहल बढेको छ । मन्दिर परिसर बाहिर लाग्ने मेलामा धार्मिक सामाग्रीका साथै युवाहरुलाई आकर्षित गर्नेगरी सजावटका सामाग्रीहरुको विक्री बढी भएको देखिएको छ ।
यात्रा व्यवस्थापन समितिका संयोजक अर्जुन धमालले यही साउन ९ गते त्रिवेणीको लागि पैदल यात्रा तय गरिएको छ र त्यसमा सहभागी हुन भक्तजनलाई अनुरोध गरिएको बताउनु भयो ।