कफीको ब्राण्डिङ्ग गर्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
बुटवल, २९ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गुल्मी, पाल्पा, प्यूठान, अघार्खाखाँची लगायतका जिल्लामा उत्पादन हुदै आएको कफीलाई प्रदेशको छुट्टै ब्राण्ड बनाउने गरी कार्य अगाडी बढाएको छ ।
कफि विकास बोर्डको आयोजनामा बिहीबार बुटवलमा आयोजना गरिएको आयोजित ‘बोर्ड, प्रदेश सरकार र स्थानीय तह’ विचको अन्तरक्रिया कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कफिको ब्राण्डिङ्ग गर्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री पौडेलले प्रदेशको गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची लगायतका जिल्लामा उत्पादन हुदै आएको कफीलाई लुम्विनी प्रदेशको अलग्गै ब्राण्ड बनाउने कार्यमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाउनुभयो । नेपालमा कफी उत्पादन हुने जिल्लाको रुपमा परिचित गुल्मी जिल्लाको कफीलाई एउटा नाम र ब्रान्डको रुपमा उत्पादन गरी विश्वव्यापी बनाउने गरी काम अगाडी बढाउनु पर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो । कफी किसानहरुको हितको लागि प्रदेश सरकार सकारात्मक रहेको उहांले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय चिया कफी विकास बोर्डका अध्यक्ष डा. विष्णुप्रसाद भट्टराईले कफीको उद्गम स्थल गुल्मी र लुम्बिनी प्रदेशलाई नमुना बनाउने गरी काम गर्ने योजना रहेको बताउनुभयो ।
प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतिरमण पौडेल लगायतले प्रदेशमा कफी उत्पादन बृद्धि र बजारीकरणबारे आ आफ्नो भनाई राख्नुभएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा मुसीकोट नगरपालिका गुल्मीका प्रमुख सोमनाथ सापकोटा, सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष पारेश्वर ढकाल, अर्घाखाँची सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, जिल्ला सहकारी संघ गुल्मीका युवराज आचार्य, कफी कृषक भास्कर ज्ञवालीले राज्यले कृषकका लागि विनियोजन गरेको रकम वास्तविक किसानसम्म पुग्न नसकेको भन्दै किसानलाई प्रत्यक्ष फाइदा पुग्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।