होटलले स्टार लेवलको सेवा सुविधा दिने
तिलोत्तमा, २९ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ स्थित भलवारीमा करिब १७ करोडको लगानीमा हिडन प्यालेस प्रा.लि. होटल सञ्चालनमा आएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्वेश्य सहित स्टार लेवलको सेवा सुविधा दिनेगरि होटल संचालन गरिएको आयोजकले बताएका छन् ।
मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन होटल व्यवसायमा प्रवेश गरिएको प्रालिका कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताउनु भयो ।
उहांका अनुसार भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल तथा लुम्बिनी आउने विभिन्न मुलुकका पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो ।
होटलमा पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट र सेमिनार हल बनाइएको छ । आगामी बैशाख ३६० भ्यु बार हाउस (डोम), व्याङक्वुट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ (पाउरोटी पसल) लगायतका संरचना निर्माण गर्ने प्रा.लि.ले लक्ष्य लिइएको प्रालिका अध्यक्ष अन्जु शर्मा खनालले जानकारी गराउनु भयो । यस्तै आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगाएतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको उहांले बताउनु भयो ।
आज पत्रकार सम्मेलन गरी सफ्ट ओपनिङ गरिएको होटल वैशाख १ गते ग्राण्ड ओपनिङ गर्ने तयारी गरिएको होटलका प्रवन्ध निर्देशक आभुषण खनालले बताउनु भयो । प्रवन्ध निर्देशक खनालका अनुसार हिडन प्यालेसमा रहेका ३४ ओटा कोठामध्ये २ वटा डिलक्स जुनियर स्वीट रुम, ९ वटा क्वीन बेड र २३ वटा टु वीन बेड रहेका छन् । होटलमा प्रयोग गरिएका अधिंकाश सामान नेपाली उत्पादन रहेका छन् भने नेपालकै पुरानो रुपन्देहीको मणिग्राम स्थित नेपाल कफी कम्पनीको कफी प्रयोग गरिएको छ । होटलको बैकिङ्ग पार्टनरमा साइन रेसुङ्गा बैंक रहेको प्रा.लि.का प्रबन्ध निर्देशक खनालले जानकारी गराउनु भयो ।
होटलले अहिले स्थानीय ३७ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने होटल पुर्णरुपमा संचालनमा आउंदा १ सय जना भन्दा धेरैलाई रोजगारीको अवसर दिने लक्ष होटलले लिएको छ ।
