
बुटवल, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रमा विभाजन आएसँगै केन्द्र हुंदै जिल्ला र स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निष्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ ।
नेकपा रुपन्देही जिल्ला अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी ओली पक्षको नेकपामा लागेपछि प्रचण्ड नेपाल पक्षले पार्टीका जिल्ला अध्यक्ष सुवेदीलाई हटाएर युवा नेता राजुु गुरुङलाई अध्यक्ष चयन गरेको छ । गुरुङ युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै नेकपा कपिलबस्तु जिल्ला अध्यक्षमा लुम्विनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई चयन गरिएको छ । यस अघि नेकपाको जिल्ला अध्यक्ष रहनु भएका झवि पोखरेल केपी ओली समूहमा लागेको भन्दै प्रचण्ड माधव समूहले पोखरेललाई हटाएर प्रदेश सभा सदस्य पन्थीलाई अध्यक्षमा चयन गरेको प्रचण्ड माधव समूहले जनाएको छ ।
यसैगरी प्रचण्ड माधव समूहले गुल्मी जिल्ला अध्यक्षमा सोमनाथ सापकोटालाई जिल्ला अध्यक्षमा चयन गर्दै केन्द्रमा सिफारिश गरेको छ ।
यस अघि नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्त केपी ओली पक्षमा लागेको भन्दै पन्तलाई हटाएर मुसिकोट नगरपालिकाका मेयर समेत रहनु भएका सापकोटालाई अध्यक्षमा सिफारिस गरिएको जनाइएको छ ।
प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुको जिल्लाजिल्लामा भएको भेलाले ओली पक्षमा लागेका जिल्ला अध्यक्षहरुलाई हटाएर आफ्नो समूहका जिल्ला नेताहरुलाई अध्यक्षमा चयन गरेको हो ।