बुटवल, २४ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, नेपाल प्रेस युनियन लगायत १८ वटा शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । जस अनुसार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ ।
शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले बुटवल राजमार्ग चौराहदेखि मिलनचोक सम्म सडकको एकातर्फको लेनमा मुखमा कालो मास्क, हातमा कालो पट्टी, प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा प्रचण्ड–नेपाल समूह लगायतका दलहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित काँग्रेसले तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।
नेपाली काँग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । यस्तै काँग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै पार्टीको जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
