रोटरी क्लवमा केवलकारको विषयमा छलफल
बुटवल, २४ माघ । रोटरी क्लव अफ बुटवलको १३५० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डा अन्तर्गत शनिबारको बैठकमा बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको विषयमा छलफल भएको थियो । बैठकमा सिद्धबाबा केवल कार परियोजनाका बारेमा रोटरियन सृष्टि गुरुङले अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाई १ किलोमिटर ९५ किलोमिटर रहने गुरुङले जानकारी गराउनु भयो । निर्माणको काम पुरा गरी २ वर्षभित्र सञ्चालन गर्नेगरी प्रालिले काम अगाडि बढाएको जानकारी गराउँदै गुरुङले सरकारबाट पूरा गर्ने प्रक्रिया सबै सम्पन्न भइसकेको बताउनुभयो ।
“लिखत रुपमा र कानुनी रुपमा गर्नुपर्ने सबै कामहरु करिब पुरा गरेका छौं”, गुरुङले भन्नुभयो । केबुलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने, टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहनेछ ।
प्रालिले नुवाकोटमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम पनि एक साथ सुरू गर्ने जानकारी गराएको छ । बैठकमा प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले महत्वाकांक्षी योजनाका साथ सुरू भएको सो केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने बताउनुभयो । प्रालिका सचिव पिएल श्रेष्ठले पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा पर्यटकहरु आउने र परियोजना सफल हुने दावी गर्नुभयो ।सन् १८१४ ताका तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको इतिहास पाइन्छ ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मणिरत्न पाण्डे, खेमराज पुन, शिवकुमार ज्ञवाली, बोनिन पिया, आमोद सिमाङ्गैडा, बैकुण्ठ कोइराला, खेम पराजुलीलगायतले विभिन्न जिज्ञासा एवं सुझाव राख्नुभएको थियो ।
