बुटवल, १८ माघ । नेपाली काँंग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लव लुम्बिनीले बुटवलमा आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनकालागि चुनावको मिति घोषणा गरेको दावी गर्नुभयो । ‘यो सरकारले चुनाव गराउनकालागि मिति घोषणा गरेको होइन्, प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणाको बहाना मात्रै हो ।’ उहाँले भन्नु भयो । ‘नरहे बासँ नरहे बासुरी’ को संज्ञा दिदै नेता रिजालले ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गर्नु भयो ।
नेता रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विवस्त रहेको बताउंदै अदालतले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गर्नु भयो । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उहाँले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदलतको गरिमा कायम हुने आशा व्यक्त गर्नुभयो ।
‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निणर्य गरेको छ भन्दै उहाँले राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ तसर्थ संसद पुन स्थापना हुन्छ ।’
अब प्रधानमन्त्री ओलीको पूर्व राजा ज्ञानेन्द्र जस्तै बिदाहुने दिन आउने उहांले बताउनु भयो । सत्तामा आएपछि नियम कानुन केहि नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहाँको दावी रहेको छ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाकालागि नेपाली काँग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिए सम्म काँंग्रेसले निरन्तर विरोध गरिरहने उहांको भनाई छ ।