माघ १७, बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने बताउनु भएको छ । वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको आरोप लगाउंदै उहांले स्वतन्त्र न्यायलयले संविधान बमोजिम र कानून बमोजिम निर्णय लिने विश्वास ब्यक्त गर्नुभयो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनीले बुटवलमा शनिवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद भएको टिप्पणि गर्नुभयो । कम्युनिष्टहरु पतनको गइसकेको उल्लेख गर्दै उहांले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस आन्दोलनमा रहेको बताउनु भयो । पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहड र सनकका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गर्नुभयो । लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उहांले निर्वाचन विधिसम्मत हुनुपर्नेमा जोड दिनुभयो । साक्षत्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
