बुटवल, २ माघ । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताउनुभएको छ । ‘देशलाइ हितमा राखेर, केहि बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं, होइनभने फिर्ता गरौं’ उहाँले भन्नु भयो ।
लागु गर्ने की नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उहाँले तत्कालै टुंगाउनुपर्ने बताउनु भयो । ‘एमसीसी ११ बर्ष अघि देखिको योजना हो, बिचमा बनेको सबै सरकारले राइट लगाउदै आएका थिए, अहिले विवादित बनाइएको हो, मैले लिएर आएको त होइन ।’ उहाँको भनाई थियो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राख्नु भयो । ‘विद्युत् बढी हुने भए पनि ट्रान्समिसन लाइन विस्तार नहुदा त्यसलाई बेच्न पाइदैन, जसका कारण देशलाई दैनिक एक अर्ब बराबरको घाटा हुन्छ ।’ उहांले भन्नु भयो ।
लोडसेडिङ अन्त गर्न आफु २०७२ सालमा उर्जा मन्त्री हुदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उहाँले भन्नुभयो—‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो, तर प्रचार अर्कै भयो ।’
मन्त्री रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन गर्नुपरेको र यो बाध्यात्मक परिस्थितिको कारण भएको उहाँको तर्क रहेको छ । उहाँले भन्नु भयो—‘यो संविधान सम्मत छ, संसद बिघटन अग्रगामी कदम हो, अब संसद पुर्नस्थापना हुन्न, देश चुनावमा गैसक्यो ।’ अहिलेसम्मका उपलब्धि संस्थागत गर्न आफु सरकारमा गएको भन्दै उहाँले अहिले सरकार र मन्त्रालय यसलाई बचाउन लागिपरेको बताउनु भयो । पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमत विपरित रहेको उहाँले बताउनु भयो ।
नेकपा फेरि एक हुने वा नहुने सम्भावना के छ भनेर पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री रायमाझीले भन्नुभयो—‘अहिले नेताहरु एकले अर्काेलाइ गाली गर्दै हिडेका छन्, त्यो आवश्यक छैन, भोली एकैठाउं हुनपनि सकिन्छ, यो राजनीति हो राजनीतिमा सधै सम्भावना रहन्छ ।’
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।