बुटवल, २८ पुस । सडक बिस्तारको नाममा डोजर चलाएर बुटवलको मुख्य बजारका घर भत्काउँदा पेशा व्यबसाय गरी बसेका व्यबसायीहरुले भोग्नु परेको क्षती प्रति बुटवल उद्योग बाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सडक मापदण्ड कायम गरी घरटहरा हटाउने कार्य स्वभाविक भएपनि सरकारी मापदण्ड पुरागरी स्थानीय निकायमा नक्सा पास समेत गरेर बनाईएका संरचना हटाउँदा मुआब्जा प्रदान गर्नुपर्ने सम्मानित सर्बोच्च अदालतले दिएको आदेशको मसी सुक्न नपाउँदै ती घरमा पेशा व्यबसाय सञ्चालन गरेर बसेका व्यबसायीलाई सामान सार्न समेत समय नदिई आदेशको कार्यान्वयनको नाममा डोजर चलाउनु मानवता बिरोधी कार्य भएको संघले ठहर छ ।
सडक बिस्तारको काम अगाडी बढाउने पक्षमा अदालतले फैसला गरेलगत्तै आईतबार बुटवलको राजमार्गमा पर्ने घरमा डोजर लगाएर भत्काईएको थियो । बुटवल उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ती निकालेर अर्थव्यबस्था सञ्चालनमा सरकारको अभिन्न साझेदारको रुपमा रहेको नीजि क्षेत्र प्रति भएको व्यबहारले त्रसित बनाएको र नीजि क्षेत्रको योगदान तथा भूमिका प्रति नजर अन्दाज गरिएको महसुस गरिएको उल्लेख गरिएको छ । सरकार सञ्चालनको प्रमुख स्रोत कर तथा राजश्वका मुख्य माध्यम करदातालाई अपमान र हिनताबोध नहुनेगरी संयमता र शालिनता अपनाउन समेत अपिल गरिएको छ ।