भैरहवा, २८ पुस । रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेल अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा कपिलवस्तुले पाल्पालाई २ विकेटले पराजित गरेको छ । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले दाङलाई ७ विकेटले पराजित गर्दै यो समूहबाट फाइलन प्रवेश गरेको छ ।
रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’ को खेलमा टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ३२ ओभरको खेलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो । जसमा रुपेश बश्याल (बी) र नरेशकुमार सार्कीले समान २२÷२२ तथा समिर मल्लले १३ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा कपिलवस्तुका वसिर अहम्मदले ४, दुर्गेश कुर्मीले ३, गंगेश हरिजनले २ र रवि शुक्लाले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २८ ओभरमा ८ विकेटको क्षतिमा ९८ रन बनाई लक्ष्य पुरा गर्यो । उसका लागि राज अग्रहरीले २६, रवि शुक्लाले १४ र अमृत पौडेलले १० रनको योगदान गरे । बलिङमा पाल्पाका सुरेश गोदारले र रुपेश बश्याल (ए) ले ३÷३ र श्रीधर बश्यालले २ विकेट लिए । कपिलवस्तुका वसिर अहम्मद म्यान अफ द म्याच भए । भोलि समूह ‘ए’ पाल्पा र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दाङको लमहीमा भएको खेलमा दाङलाई सात विकेटले पराजित गर्दै बाँके समूह बी बाट फाइनल पुगेको छ । टस जितेर ब्याटिङमा आएको दाङले २९ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि कमल ओलीले २९ र तुल बहादुर थापाले २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् । बलिङमा बाँकेका आकाश बिष्ट र दीपेन्द्र रावतले ३–३ विकेट तथा सिद्धार्थ शाही र अजय साहनीले दुई–दुई विकेट लिन सफल भए ।
एक सय १२ रनको लक्ष्य बाँकेले तीन विकेटको क्षतीमा २३ दशमलव पाँच बलमा पुरा गर्यो । जसमा प्रनिज थापाले ७० र रोहन केसीले २८ रन बनाए । दाङका कमल ओली, तुल बहादुर थापा र राजविर सिंहले समान एक–एक विकेट लिएका थिए । म्यान अफ दि म्याच प्रनिज थापा घोषित भए ।