देवदह, २५ पुस । सामुदायिक वनका उपभोक्ताहरुले सरकारले वनका उपभोक्ताको हित हुनेगरी उपभोग नीति ल्याउनुपर्ने माग गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको रोहिणी सामुदायिक वनका उपभोक्ताहरुले वनका ढलापडा काठ उपभोक्ताले उपभोग गर्न पाउनुपर्ने माग गर्दै यसका लागि सरकारले उपभोग नीति ल्याउनुपर्ने माग गरेका हुन् ।
रोहिणी सामुदायिक वन उपभोक्ता समितिको छैटौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले उपभोक्ताहरुको मिहेनतले सामुदायिक वनहरुमा हरियाली बढेको वताए ।
साधारण सभाको शनिबार उद्घाटन गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत बोधराज सुवेदीले सामुदायिक वनबाट उपभोक्ताहरुले नेतृत्व विकाससंगै आयस्तरमा समेत विकास गर्न सफल भएको बताउनुभयो । उहांले सामुदायिक वन प्रति उपभोक्ताको अपनत्वका कारण वनमा हरियाली बढाउन सफल भएको उल्लेख गर्नुभयो ।
समूहका अध्यक्ष चन्द्रबहादुर रसाईलीले प्रकृतिको महत्वपुर्ण सम्पदा वनलाई जोगाउदै आयआर्जन वढाउने हिसावले योजनावद्घ रुपमा अघि बढेको बताउनु भयो । वनमा विगत सात वर्षदेखि वैज्ञानिक वन ब्यवस्थापनको नीति नियम अन्तरगत कार्यसम्पादन भैरहेको वताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं १० का वडाअध्यक्ष यकबहादुर सुनार, वडा नं ९ का वडाअध्यक्ष केशवप्रसाद भट्टराई, वनका संस्थापक अध्यक्ष चन्द्र बहादुर क्षेत्री, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा, बलराम पोखरेललगायतले वोल्दै उपभोक्ताले वन संरक्षणमात्र नभई स्थानीयको आयआर्जन वृद्धि गराउदै सामाजिक विकासमा समेत टेवा दिदै आएको बताउनुभयो । सामुदायिक वनले रिगरोड निर्माणको काम समेत गरेको छ । यस्तै सामुदायिक वनले गरिबी निवारण कार्यक्रम अन्तरगत वनका सदस्यहरुलाई ३ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । वनले घुम्ती शिविर अन्तरगत २४ विपन्न परिवारलाई १५ हजारका दरले ३ लाख ६० हजार रुपैया वितरण गरेको हो । देवदह नगरपालिकाको वडा नं ९ र १० को २ सय ७ दशमलव ४१ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ । वनमा ४ सय ७३ जना उपभोक्ता रहेका छन् ।
