बुटवल, २० पुस । विभिन्न राजनीतिक दलमा आवद्व नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् । आफैले बनाएको संविधानको खिलापमा प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, जनआकाँक्षा बिपरित प्रतिगामी भएको आरोप लगाएका छन् । संसद विघटनले निम्ताएको संकटको समाधानका लागि संसद पुर्नस्थापना गरेर असंवैधानिक कदम सच्चाउनु पर्नेमा जोड दिए । तत्कालिन प्रधामन्त्री मनमोहन, गिरिजा, शेरबहादुरलाई संविधानले संसद विघटनको अधिकार दिएपनि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कूनै अधिकार नदिएको उनीहरुको तर्क छ ।
राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालले बुटवलमा आयोजना गरेको संविधान विघटन, राजनीतिक संकट र निकास विषयक अन्तरक्रियामा बोल्ने बक्ताले पार्टी भित्रको झगडा मिलाउन नसकेर प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्दा संकट आएको बताए । संसद विघटनले देशमा राजनीतिक अस्थिरता आएको अवस्थामा अहिले राजावादी र विदेशी शक्ति केन्द्रहरुले नेपालमा चलखेल बढाएको उनीहरुको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले राजनीतिक दृष्टिकोणबाट संसद विघटन प्रतिगामी कदम भएको बताउनुभयो । संसद पुर्नस्थापनाले देशले निकास नपाउने बताउंदै दिर्घकालिन सोंचका साथ अग्रगामी सोंचका आधार तयार गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले संविधानमाथि कु गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको बताउंदै प्रतिगामी कदमले संविधान र यो व्यवस्था नै संकटमा परेको बताउनुभयो । संविधान, गणतान्त्रिक व्यवस्था ठिक भएपनि प्रधानमन्त्री र राष्ट्रपति खराव हुंदा देशले संकट भोग्नु परेको दावी गर्नुभयो । उहांले संविधान र पार्टीको बिधान अनुसार सरकार नचलेपछि पार्टीमा कुरा उठाउंदा ओलीले संसद विघटन गरेर संकट निम्ताएको आरोप लगाउनुभयो ।
माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवरले संसद विघटनले राजनीतिक संकट उत्पन्न भएको बताउंदै संसद पुर्नस्थापनाले पनि सबै समस्याको हल हुन नसक्ने बताउनुभयो । राजावादी र विदेशी शक्ति केन्द्रहरुसंगको साठगांठमा ओलीले संसद विघटन गरेको दावी गर्नुभयो । नेकपा निकट युवासंघका नेता राजु गुरुङले जननिर्वाचित प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताउंदै पार्टीको विधान, नीति र कानुनको परिधी मिचेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु नेपाली जनतामाथिको घात भएको बताउनुभयो । संसद विघटनले गणतान्त्रिक व्यवस्थालाई संकटमा पारेका ओलीको अबैधानिक कदमका बिरुद्व अविचलित रुपमा जनस्तरबाट आन्दोलनको उठान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँगे्रसका बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिव खगेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, खेम लुइटेल, लिलाबल्लभ ढकाल, गणेश घिमिरे, लेखक ऋषि आजाद, दीपक पौडेल लगायतले बोल्दै संसद विघटनका बिरुद्व जनस्तरबाट आन्दोलनको विकल्प नभएको बताउनुभयो । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालका अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कार्कीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।