नवलपरासी, २० पुस । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले संसद पुनस्थापनाको विकल्प नभएको बताउनुभएको छ । अब प्रचण्ड– ओली कस्को पछाडी लाग्नु भन्दा पनि हाम्रो सामु अब संसद पुनस्थापना वा ध्वंस दुई वटा बाटो रहेकाले संसद पुनस्थापनाको विकल्प नभएको उहांले बताउनु भयो ।
प्रचण्ड–नेपाल समूहको नेकपा नवलपुरको आयोजनामा सोमवार भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका नेता घनश्याम भुसालले पार्टी एकता, देशको बचाउ र सबैको लागि संसद पुनस्थापनाको विकल्प नभएको बताउनु भएको हो । उहांले संसद पुनस्थापना नभए देशमा विध्वंश मच्चिने चेतावनी समेत दिनुभयो । उहांले भन्नुभयो–‘संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउने कुरा हुंदैन ।’ प्रशिक्षण भेलामा भुसालले राष्ट्रपतिले फूलबुट्टा भरेर स्वीकृत गर्नुभएको प्रतिनिधि सभा बिघटन संबिधान बिपरित भएको दावी गर्नुभयो ।
पूर्व मन्त्री रहेका नेता भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको अन्य सबै मन्त्री विपक्षमा रहेको समेत खुलासा गर्नुभयो । नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताउनु भयो । ओलीमा आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखि नै हावी हुदा समस्या सिर्जना भएको नेता भुसालले वताउनु भयो । उहांले संसद पुर्नस्थापना हुनेमा बिश्वस्त हुन कार्यकर्तालाई आग्रह गर्दै संसद पुर्नस्थापना पछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने जिकिर गर्नुभयो । पार्टी विभाजन पछि नवलपरासीमा पनि ओली र प्रचण्ड नेपाल दुवै समूहले शक्ति प्रदर्शन, भेला प्रशिक्षण शुरु गरेका छन् ।
रामकुमर श्रेष्ठ । नवलपरासी