बुटवल २० पुस
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लव अफ रुपन्देही लुम्बिनी’ले सरकारी बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि ग्रामिण तथा दुर्गम क्षेत्रका बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
क्लवले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक बिद्यालय’मा ईन्टरनेट जडान गरेको छ । बिद्यार्थीमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको बिकासको लागि ईन्टरनेट जडान गरिएको क्लवका अध्यक्ष प्रमोद थापाले बताउनु भयो ।
‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लवले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
सोही अनुसार क्लवले दुरदराजका समेत बिद्यालय छनौट गरेर ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि बालबालिकालाई बिद्यालय पठाउनु पर्छ भन्ने अभिभावकलाई ज्ञान प्रदान गर्नेगरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै उनीहरुमा अतिरिक्त ज्ञानको बिकासका लागि खेलकुदका सामाग्रि, बिद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामाग्रि समेत क्लवले प्रदान गर्दै आएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ मा रहेका जुनिया माध्यमिक बिद्यालय, चिदिपानी माध्यमिक बिद्यालय र हेमन्त आधारभूत बिद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ६ बाह्रनम्बरमा रहेको मिदिनी आधारभूत बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्लवका संस्थापक अध्यक्ष दिपेश शाहीले जानकारी गराउनु भयो ।
त्यस्तै क्लवले तिलोत्तमाकै सगरमाथा आधारभूत बिद्यालय र सरस्वती माध्यमिक बिद्यालयमा समेत शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको क्लवका निवर्तमान अध्यक्ष सुरज पंगेनीले जानकारी गराउनु भयो ।
विगत ४ वर्षदेखि कार्यक्रम सञ्चालन भएको हेमन्त आधारभूत विद्यालयका प्रधानाध्यापक दण्डपाणी ढकालले क्लवले कार्यक्रम सञ्चालन गरेयता बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै बिद्यार्थी बिद्यालय आउने क्रम र बिद्यार्थी संख्या समेत बढेको बताउनु भयो ।
क्लवले कार्यक्रम सञ्चालन गरेपछि बालबालिका धेरै खुसी भएको र उनीहरुको मनोबिज्ञानमा समेत सकारात्मक प्रभाव परेको उक्त बिद्यालयकी शिक्षिका ईन्द्रा ढकाल बताउनु हुन्छ ।
त्यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पृथबहादुर बुढाथोकीले अभिभावकलाई समेत सकारात्मक प्रभाव परेको औंल्याउनु भयो ।
यता जुनिया माध्यममिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले बिद्यालयले प्राथमिक आवश्यकताको सूचीमा छनौट गरेर बिद्यालय व्यबस्थापन समितिमा प्रस्ताव लैजाने तयारी भएको बेला क्लवले ईन्टरनेट जडान गरी आवश्यकता परिपूर्ति गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले ईन्टरनेट जडानसंगै बिद्यार्थीको अतिरिक्त सिकाईमा यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लवले सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम ग्रामिण क्षेत्रका बिद्याललयमा समेत पुगेर नियमित कार्यक्रम सञ्चालन गर्नु आफैमा स्रहानीय काम भएको बताउँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
किवानिज क्लवका डिष्ट्रिक्ट गभर्नर दिपक भण्डारीले नेपाल भरीका क्लवहरु मध्ये किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले तुलनात्मक रुपमा प्रभावकारी काम गरेको औंल्याउनु भयो । ईन्टरनेट लञ्चिङ्,खेलकुदका सामाग्रि तथा शैक्षिक सामाग्रि प्रदान गर्नको लागि क्लवका उपाध्यक्षद्वय अमन श्रेष्ठ, मनोज आचार्य, अशोक दर्लामी, गोविन्द भुसाललगायत क्लवका पदाधिकारी सदस्यहरुको टोली हालै गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ जुनिया पुगको थियो ।