वुटवल, १९ पुस । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले हालै नेपाल सरकारको सचिवमा बढुवा भएका डा. मानबहादुर विकेलाई बुटवलमा सम्मान गरेको छ । नेपालमा लघुवित्तका बारेमा विद्यावारिधि समेत गरेका सचिव विके वित्तिय संस्थाका परिकल्पनाकार समेत हुनुहुन्छ । लघुवित्तका परिकल्पनाकार समेत रहेका विके सचिव पदमा बढुवा भएकाले सम्मान तथा बधाई कार्यक्रम गरेको संस्थाले जनाएको छ ।
डा. विकेलाई लघुवित्तका अध्यक्ष बाबुराम विश्वकर्माले खादा तथा सम्मानपत्रले सम्मान गर्नुभएको हो । सम्मानपछि बोल्दै सचिव विकेले समाजदेखि विभिन्न तहको सरकारी जागिरे हुँदै सचिव पदसम्म आइपुग्दा थुप्रै सामाजिक कठिनाईसँग लड्नुपरेको बताउनुभयो । उहांले नेपालको समाजिक संरचनाका कारण दलित समुदायले विभेदहरु भोग्नुपरेको स्मरण गर्दै आर्थिक रुपमा गरिवहरुको उत्थानका लागि लघुवित्तको योजना बनेको उल्लेख गर्नुभयो । आफैले शुरु गरेको लघुवित्तबाट सम्मानित हुन पाउदा थप जिम्मेवारी बोध भएको बताउँदै सम्मानका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
लघुवित्तका अध्यक्ष बाबुराम विश्वकर्माले लघुवित्तको सफलतासँग डा. विकेको योगदान गाँसिएको बताउँदै कर्मचारी क्षेत्रमा पनि थप सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उक्त अवसरमा संचालकका तर्फबाट माधव नेपाल, लेखा समितिका संयोजक नरेन्द्र कंडेल, लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले बोल्दै सचिव विकेले समाज रुपान्तरणका लागि पुर्याएको योगदानको कदर गर्दै कार्यक्षेत्रमा सफलताका लागि शुभकामना दिनुभयो ।