बुटवल, १२ पुस । नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले राजाले गरेको संसद विघटन पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन जसरी पनि स्थापित हुने जिकिर गर्नुभएको छ । विधि विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो ।
नेकपा रुपन्देहीले आईतवार रुपन्देहीको ड्राईभरटोलमा आयोजना गरेको कार्यकर्ता भेलामा वोल्दै नेता भुसालले अदालतले संसद पुर्नस्थापना नगरे जनताको आन्दोलन र विद्रोहले संसद पुर्नस्थापना गरेरै छाड्ने चेतावनी समेत दिनु भयो । विधि विधान र पार्टीको निर्णय नमान्ने केपी ओलीले संसद विघटन गरेर संबिधान च्यात्ने र संबिधानको वर्खिलाप गरेको आरोप उहांले लगाउनु भयो ।
नेता भुसालले संसद पुर्नस्थापना भएमा संबिधानको रक्षा हुने र पार्टी विभाजन पनि रोकिने तर्क गर्दै यदि त्यसो नभएमा मुलुकमा प्रतिगमनकारीले कब्जा जमाउने संकेत गर्नु भयो । स्थानिय तह, प्रदेश सरकार र केन्द्रिय सरकारमा नेकपाको करिव दुई तिहाईको पकड रहेको समयमा संसद विघटन गरेर ओलीजीले संबिधानलाई नै समाप्त पार्ने षडयन्त्र गरेको आरोप उहांले लगाउनु भयो ।
संसद विघटनलाई ओली बाहेक एक जनाले पनि ठिक हो भनेको सुनेको छैन भन्दै नेता भुसालले यो विघटन चुनाव गर्नका लागि पनि होईन र चुनाव हुनेवाला पनि छैन भन्नुभयो ।
भेलामा पूर्व सभामुख तथा नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले भ्रष्टाचार नगर्नुस जनताका काम गर्नुस भन्दा सरकारलाई पार्टीले घेराबन्दी गरेको भन्ने ओलीको कदम निरंकूशतावादी भएको टिप्पणी गर्नु भयो ।
विधि विधान र संबिधान कुल्चने काम भएको छ भन्दै नेतृ घर्तीले यसको भण्डाफोर गर्दै सडकवाट प्रधानमन्त्री नवनाउदांसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो । संसद विघटन भएको समयमा काम चलाउ सरकारलाई मन्त्री परिषद विस्तार गर्ने कुनै अधिकार नै नभएको बताउदै उहांले यसको विरोधमा मुलुकभर सशक्त आन्दोलनको आधिवेहरी निकालिने धारणा राख्नुभयो ।
पार्टीका जिल्ला सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, हकिउल्लाह खां, खेम लुईटेल लगायतले प्रधानमन्त्री ओलीले चालेको कदमको विरोध गर्नुभएको थियो । त्यसअघि पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा समेत नेता भुसालले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा राख्नुभएको थियो ।