बुटवल, ८ पुस । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अवैध रुपमा ओसार पोसार गरेको अवस्थामा २७ वटा गोरु र २५ वटा गाई सहित अवैध कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पश्चिमबाट पुर्वसतर्फ गाई गोरु ओसार पसार हुँदै छ भन्ने सूुचनाको आधारमा जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.८ रामनगर स्थित पुर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा गाई गोरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पश्चिम बाट पुर्व तर्फ आईरहेका ना ६ ख ३८२६ र ना ६ ख २३७१ नम्बरको ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा ना ६ ख ३८२६ नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख २३७१ नं. को ट्रकमा २५ वटा गाई र ५ वटा गोरु लोड गरी अवैध रुपमा ओसार पोसार गरेको पाईएकाले दुबै ट्रक, गाई गोरु सहित चालक र सो कार्यमा संलग्न मानिसहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका गाई, गोरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार सो अवैध कार्यमा संलग्न ट्रक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को चक्र राई, सहचालकहरु जिल्ला मकवानपुर मनहरी गाउँपालिका ७ बस्ने बर्ष २१ को उज्जल कुमार सिंह, सहचालक जिल्ला सुनसरीका बर्ष २४ को सोहिद आलम, सोही ठाउं बस्ने बर्ष २५ को समिर आलम, चालक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को बुद्धिलाल तामाङ, सहचालक सोही ठाउँका बर्ष २२ को बच्छुराम भुजेल, सहचालक जिल्ला बर्दिया गुलरिया नगरपालिका १ बस्ने बर्ष २८ को मनोहर खान र सोही ठाउका सहचालक बर्ष ३२ को महमद एकराम खानलाई पक्राउ गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधई स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी निकासी गरेको प्याज, पानीपुरी र काजु बरामद गरेको छ । प्रहरीले चेक जाँच गर्ने क्रममा अन्दाजी मुल्य रू ६२ हजार ८ सय रकम बराबरको सामानहरु ओसारपोसार गर्दै गर्दा प्रहरीले उक्त सामानहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।