नवलपुर ८ पुस,
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ स्थित कालिगण्डकी करिडोरको भोक्रोफाँट भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।
ना३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।
ट्रक दुर्घटना परि चालक हेटौंडा उपमहानगरपालिका १७ का सुरेश भुजेल, बलराम श्रेष्ठ र पर्सा ठोरीका भीमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालिगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो । घटनास्थल गैंडाकोटस्थित पूर्व पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।