बुटवल, २७ मंसिर । तिनाउ मिसन डेभपलमेन्ट बैंकले पाल्पाको प्रभासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तानसेन नगरपालिका–७ प्रभासमा स्थापना भएको ५४ औं शाखाको बैंकका अध्यक्ष जीवनप्रसाद वझाले उद्घाटन गर्नुभयो । शाखा उद्घाटनका अवसरमा बैंकले स्थानीय सरकारी विद्यालयका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा स्टेशनरी सामान प्रदान गरेको छ भने ९१ वर्षिय जेष्ठ नागरिक मेदनी बल्लभलाई नगद र दोसल्लासहित सम्मान गरेको छ ।
शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष वझाले बैंकबाट कर्जा लिएर उद्यम गरी आयआर्जन गर्न र वचत गरेर जुनसुकै माध्यमबाट बैंकबाट लाभ लिन स्थानीयबासीलाई आग्रह गर्नुभयो । सो अवसरमा तानसेन नगरपालिका वडा नंं ७ का अध्यक्ष मुक्तिराम जिसीले बैंकको शाखा कार्यालय स्थापनाले प्रभाससंगै बांसटारी, चुच्चेबारी, मदनपोखरा, माडी लगायतका जनताले बैंकिङ कारोबारको सुविधा पाएको बताउनुभयो । उक्त कार्यक्रम बैंकका सञ्चालक ऋषिराम पाण्डेको स्वागत र प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो । १७ अर्ब ३५ करोड निक्षेप र १३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको तिनाउ मिसन बैंक निकट भविष्यमै ‘क’ वर्गको वाणिज्य बैंक सिटिजन्स बैंकसंग एकीकरण हुने प्रकृयामा छ ।
