गुल्मी, १२ मंसिर । गुल्मी जिल्लाको इस्मामा आज (शुक्रबार) बिहान भएको जिप दुर्घटानामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनास्थलमा ५ जना र उपचारको क्रममा एक जनाको मृत्यु भएपछि जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको गुल्मी प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीको हुल गाउँबाट जिल्ला सदरमुकाम तम्घासतर्फ आउंदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका इस्मा गाउँपालिका ४ हुलका १९ बर्षीय फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको हो ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्वर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षका धन बहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० बर्षीय सुन्दरी थापाको दुर्घनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी २८ बर्षीय सरस्वती दर्लामी र जिपका सहचालक २५ बर्षीय कमल हितान घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचार भैरहेको छ ।
जिप चालक बुद्ध बस्नेत सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप हुलको स्कुल नजिकै दुर्घटना भएको र सडकदेखि करिव ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
