बुटवल, ४ मंसिर । रुपन्देही जिल्लाको ईलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले कञ्चन गाउँपालिका वडा नं. ३ स्थित ठकुरापुरमा अवैध रुपमा चोरी पैठारी गरी भारततर्फ लैजादै गर्दा २३ वटा गाई गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
सुरक्षा टोलीले कपिलबस्तुबाट गैडहवाको सांडी धैती हुदै कञ्चनको ठकुरापुर जंगलको बाटो अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा २० वटा गाई, २ वटा गोरु र १ वटा सानो बाच्छालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चौपायासंगै गैडहवा गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ का छट्टु पासी भन्ने अबदुल सलाम, बर्ष १८ का फिरोज मुसलमान, बर्ष ९ का सोलु पासी, बर्ष ७ का फरण पासी, फुच्चे पासी र गोलु पासीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो ।
छाडा गाई गोरुलाई राख्ने गैडहवाको ढाँटरमा लान थालेको बताएपनि अबैध रुपमा भारत तर्फ चोरी पैठारीका लागि लैजादै गर्दा नियन्त्रणमा लिइएका चौपायाको मुल्य करिब १ लाख २५ हजार रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ ।
