बुटवल, १० कात्तिक । आश्विन शुक्ल दशमीका दिनमा मनाईने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाईदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि १०ः१९ बजे उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिले जनाएको छ । आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम र टीका लगाइदिने मानिस पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनु भयो ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानेर लगाइन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
सत्ययुगमा देवीले महिषासुर र त्रेतायुगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यस वर्ष कोरोना भाइरसको सँक्रमणका कारण सुरक्षित रहनुपर्ने भएकाले विगतका वर्षहरुमा जस्तो दर्शैंमा हुनुपर्ने चहलपहल निकै कम छ ।
