बुटवल, ९ कार्तिक । आज नवरात्रीको नवौं दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने यो पर्व दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिनुका साथै धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
आजको दिनलाई निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आज विभिन्न शक्तिपीठहरुमा पशु वली चढाइने दिन हो । तर यसवर्ष कोरोना महामारीको त्रासले दशैंको रौनकमा धेरै कमी आएको छ । सरकारले पनि कोरोनाको जोखिमबाट बच्न धेरै घुँईचो र भेलाहरु नगर्न तथा आआफ्नो घरमा दशैं मनाउन आग्रह गरेको छ ।
