भैरहवा, ३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित एक पेट्रोल पम्पमा ट्याँकरमा आगलागि भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ स्थित एभरेष्ट आयल सप्लायर्समा इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आलगागी भएको रुपन्देही प्रहरीले जनाएको छ ।
सोमबार राती करिव ८ वजे पम्पको लागि इन्धन लिएर आएको लु २ ख १५४१ नम्वरको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएको हो । आलगागीबाट ट्यांकर जलेर पूूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो । प्रवक्ता खत्रीका अनुसार इन्धन खन्याउने अपरेटर नारायण खनालको हात खुट्टामा आगोले पोलेर सामान्य घाइते भएका छन् भने ट्याँकरमा रहेको ३० हजार लिटर डिजल समेत नष्ट भएको छ ।
ट्याँकरमा लागेको आगो सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले समयमै निभाएकाले आगलागीबाट अन्य क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।