कावासोती, २२ असोज । नवलपुर ट्याक्टर समिति अन्तर्गत कावासोती उपसमितिले नदी दोहनको समाचारको विषयलाई लिएर यस बिषयमा समाचार लेख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको अमर्यादित व्यवहार प्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटद्वारा जारी विज्ञप्तिमा ट्याक्टर उपसमितिका पदाधिकारीहरुले समाचारको बिषयलाई लिएर पत्रकारको पत्रकारितामाथि धाबा बोल्ने र पेशाप्रतिको ईमानदारिता र कर्तब्यप्रति औंला उठाउनु सिगों पत्रकारिता प्रतिको अपमान हो भन्ने उल्लेख गरिएको छ ।
पत्रकार महासंघ नवलपुरले पत्रकारिताप्रति लगाव राखेर पत्रकारिता गर्ने पत्रकारहरुलाई गरिने यस्ता ब्यबहारले पत्रकारिता पेशाप्रति नकरात्मक भ्रम सिर्जना गर्ने कार्य कही कतैबाट नहोस् भन्ने माग समेत गरेको छ ।
विज्ञप्तिमा ट्याक्टर उपसमितिका अध्यक्ष लगायतलाई आईन्दा यस्तो हर्कत नदोहोर्याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानुन हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न महासंघले सम्बन्धित निकायसंग माग समेत गरेको छ ।
कावासोतीका कृष्ण गिरीको अध्यक्षतामा रहेको ट्याक्टर उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ र सालिकराम कोइरालाले ट्याक्टर पक्राउ गर्न सुराकी गरेको भन्दै कावासोती १६ का ५ जना स्थानीयको खेत नजोत्ने र कुनै पनि ट्याक्टर गए १५ हजार जरिवाना गराउने निर्णय गरेको थियो । खोला दोहन गर्न पाउनुपर्छ भन्ने कावासोती उपसमितिका अध्यक्ष कृष्ण गिरीले अहिले आएर भने त्यस्तो निर्णय नै नगरेको बताउने गरेका छन् ।
यस्तै नदीजन्य वस्तुको दोहन गरेको विषयलाई लिएर लेखिएको समाचारकै आधारमा पत्रकारलाई सुराकी गरेको जस्ता आरोप लगाएर ट्याक्टर समितिले गरेको अभद्र व्यवहारप्रति नेपाल प्रेस युनियन नवलपुरले पनि आपत्ति जनाएको छ ।
नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा कानुन हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गरिएको छ ।