कावासोती, २० असोज । पूर्वी नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् । नदीदोहनका सामाचार लेखेको, पत्रकारहरुले प्रहरीलाई सुराकी गरेर ट्याक्टर समाइदिएको, समाचार लेख्दा शिर्षक बंग्याएर हाल्ने गरेको भन्दै कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक भएका हुन् ।
नवलपुर ट्याक्टर व्यवसायी समितिका अध्यक्ष शिव गिरीले पत्रकार रामकुमार श्रेष्ठ लगायतका केही पत्रकार र कावासोती १६ का ५ जना स्थानीयका खेत जोत्न कसैलाई पनि जान नदिने गरी उपसमितिले निर्णय गरेको जानकारी गराउनु भयो । यस्तो निर्णय भएको मैले पनि थाहा पाए अध्यक्ष गिरीले भन्नुभयो–‘समाचारमा शिर्षक बंगाएर हाल्न नहुने थियो । त्यसै कारण रामकुमार श्रेष्ठ लगायतका पत्रकारहरुलाई वायस्ट गरेर जाने निर्णय गरिएको हो ।’
ट्याक्टर व्यवसायीको कावासोती स्तरको उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ र शालिकराम कोइरालाको खेतबारी नजोत्ने र जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
पत्रकार श्रेष्ठले आफ्नो बारीमा तोरी लगाउनका लागि ४ दिनदेखि ट्याक्टर बोलाएको भए पनि सबै ट्याक्टरले आलटालगर्दै आएको र पछि बुझ्दै जाँदा त्यस्तो निर्णय भएको थाहा पाएको बताउनु भयो । त्यसैगरी कावासोती १६ का ५ जना स्थानीयले ट्याक्टरले खोलाबाट नदीजन्य वस्तुको चोरी गरेको प्रहरीलाई थाहा दिएर ट्याक्टर समाइदिएको भन्दै ति ५ जनाको खेत पनि जोत्न नजाने निर्णय गरेका छन् ।
कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तीले कावासोती १६ का पाँच जना स्थानीय किसानहरुले ट्याक्टर व्यवसायीले आफूहरुको खेत जोत्न प्रतिबन्ध लगाएको भन्दै गुनासो गरेको बताउनु भयो । वडा अध्यक्ष वस्तीले यस विषयमा आफुले नवलपुर ट्याक्टर समितिका अध्यक्ष शिव गिरीलाई समस्या हल गर्न आग्रह गरेको बताउनु भयो ।
कावासोती १६ का दुर्गा गिरी, अम्मर गिरी, तिर्थ पौडेल, मनि सुवेदी लगायत ५ जनाको खेत नजोत्ने निर्णय ट्याक्टर व्यवसायीले गरेका छन् । टयाक्टर व्यवसायीले यदि कसैले उनीहरुकोमा जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय समेत गरेका छन् ।