बुटवल, १३ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यबसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको छ ।
त्यस्तै संघले घरबहाल छुट गर्ने घरधनीलाई घरबहालकर छुट गर्न समेत सरकार संग माग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यबसाय ठप्प भएकोले व्यबसायीलाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । महामारीको समयमा आफ्नो घर भवनमा व्यबसाय गरेका उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत संघले विश्वास गरेको छ ।
त्यस्तैगरी महामारीको समयमा गरिएको सिमानाका नियन्त्रणलाई निरन्तर नियन्त्रण गर्न समेत संघले आग्रह गरेको छ । सिमानाकालाई नियन्त्रण गर्दा बैध कारोवारलाई प्रोत्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सिमानाकालाई नियमित कडाई गर्न आग्रह गरिएको हो ।
त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारण सभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, २९ र ३० गतेलाई तय गरेको साधारण सभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
