बुटवल, १३ असोज । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको माग पुरा गरी जीवन सुरक्षाको ग्यारेण्टी गर्न स्वतन्त्र नागरिक समूहले नेपाल सरकारसंग माग गरेको छ ।
प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो पटक जुम्लाबाट स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्नु भएको छ । काठमाण्डौमा अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर हुंदै गएकाले स्वास्थ्यप्रति ख्याल गर्न र जायज माग सम्बोधनका लागि स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले विज्ञप्ती जारी सरकारसंग माग गर्नुभएको छ ।
१९ औं पटक १६ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रनिदिन कमजोर भएकाले आफ्ना नागरिकको स्वास्थ्य र नागरिकले उठाएका जायज मागहरु सम्बोधन गर्ने दायित्व सरकारको भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा.केसीले उठाएका मागहरु जनपक्षिय भएकाले छिटो भन्दा छिटो माग पुरा गरेर जनमतलाई कदर गर्न विज्ञप्तीमार्फत स्वतन्त्र नागरिक समूह नेपालले माग गरेको छ । सरकार र प्रा.डा.केसीबीच भएका सहमति तथा सम्झौताहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्नसमेत सरकारसंग माग गरिएको छ ।
प्रा.डा.केसीले उठाएका मागहरु सरकारले सम्बोधन गर्न नसके सरकारलाई हेर्ने नागरिक समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्ने अध्यक्ष गैह्रेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रा.डा.केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको दुईसाता वितिसक्दा पनि सरकारले कूनै चासो नदिएकोप्रति स्वतन्त्र नागरिक समूह नेपालको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
संविधानले निर्देष्ट गरेको स्वास्थ्य, शिक्षा जस्ता नागरिकका आधारभूत माग प्रति सरकार मौन देखिएको र डा केसीको मानव अधिकारसमेत सरकार पक्षबाट हनन् भएको बताइएको छ ।