बुटवल, २४ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता स्व. बीपी कोईरालाकै योगदान र दुरदर्शीताका कारण मुलुकमा बहुदलिय व्यबस्था स्थापना भइ संविधान सभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न सफल भएको बताउनु भएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले बीपीको प्रजातान्त्रिक समाजबादको सिद्धान्त, नीति तथा बिचारकै जगमा टेकेर मुलुक यहाँसम्म आएकाले बीपीका सिद्धान्त र बिचारहरुलाई कदापि भुल्न नसकिने उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीले बीपीको १०७ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको ‘जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अबस्था’ बिषयक भर्चुअल अन्तरसम्बाद कार्यक्रममा बोल्दै सभापति देउवाले बीपीले लिएको नीति र सिद्धान्तको महत्व झन् बढेर गएको बताउनु भयो । कोरोनाले आम नगारिकको जीवन तहसनहस बनाउन लाग्दा समेत कम्युनिष्ट सरकारले त्यसको सम्बोधन नगरी भ्रष्टाचारमा लिप्त रहेको सभापति देउवाको आरोप छ ।
कार्यक्रममा पार्टीका महामन्त्री सशांक कोइरालाले ठुलो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्ने बीपीको दर्शनलाइ सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्रका लागि बीपीले धेरै दुःख गरेको स्मरण गर्दै महामन्त्री कोईरालाले प्रजातान्त्रिक समाजबादको सिद्धान्त, नीति तका लागि बीपीले लामो समय जेलनेल सहनु परेको उल्लेख गर्नुभयो ।
पार्टीका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बीपी काँग्रेसका लागि मात्रै नभइ सबैका लागि उदाहरणीय र प्रेरणााको श्रोत रहेको बताउनु भयो । किसानको देश भनेर चिनिने नेपाल अहिले श्रमिकको देश भनेर चिनिन थालेको र अहिलेको महामारीका बेला तिनै श्रमिक बर्गको उद्धार र व्यवस्थापनमा सरकार उदासिन रहेको नेता सिटौलाले बताउनु भयो ।
पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बीपी र काँग्रेस एक अर्काका पर्याय रहेको बताउनु भयो । दुई तिहाइको सरकारले संविधान प्रदत्त अधिकारलाइ समेत निस्तेज पार्दै मानवअधिकार, प्रेस स्वतन्त्रता जस्ता नागरिकका मौलिक अधिकारलाई संकुचन गर्न खोजेको आरोप लगाउदै नेता खाँणले कोरोना महामारीका बेला आम जनताले सरकारको अनुभूति गर्न नपाएको बताउनु भयो ।
प्रतिनिधिसभा सांसद तथा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले जनता कोरोनाको महामारीसंग जुधिरहेका बेला सरकारले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरिरहेको बताउनु भयो । सांसद तथा उद्योगपति बिनोद चौधरीले बीपी उदार अर्थनीतिका परिकल्पनाकार भएको बताउनु भयो । काँग्रेसको उदार अर्थ नीतिकै कारण बिस्तारै उकालो लागेको देशको अर्थतन्त्र अहिले कम्युनिष्ट सरकारका कारण ओरालो लागेको बताउनु भयो ।
अन्तरसम्वाद कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पुर्व सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, क्षेत्र नं. १ का क्षेत्रिय सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डेलगायतले बोल्दै २००७ सालमा बीपीकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र बीपीको प्रजातान्त्रिक समाजबादको महत्व झन बढेर गएको बताउनु भयो । अन्तरसम्वाद कार्यक्रममा जुम एप्सको होष्ट नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलले गर्नु भएको थियो ।