बुटवल, २४ भदौ । सैनामैना नगरपालिकामा हालसम्म करिब १३५० जनाको पिसिआर परिक्षण गरिएको छ । जस मध्ये ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८० जना संक्रमित मध्ये ४७ जना निको भईसकेका छन् भने २४ जना सैनामैना १ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको आईसोलेशन अस्पतालमा, २ जना बुटवल आइसोलेशन अस्पतालमा र ६ जना होम आईसोलेशनमा रहेका छन् भने १ जनाको मुत्यु भएकोे सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार सैनामैनामा हालसम्म कन्ट्याक टे«सिङमा रहेका ३२३ जना, समुदायस्तरमा २८७ जना र दिर्घ रोगी २२ जनाको कोरोना परिक्षण गरिएको छ । जस मध्ये कन्ट्याक टे«सिङमा ९ जना समुदायस्तरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिर्घ रोगी २२ जना मा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पुष्टि भै अहिले होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउन र उनीहरुमा थप हौसला प्रदान गर्न नगरपालिकाका जनप्रतिनिधिहरुले घरदैलो अभियान संचालन गरेको नगर प्रमुख चित्रवहादुर कार्कीले जानकारी गराउनु भयो ।
कोरोना संक्रमितहरुको मनोबल बढाउन नगर प्रमुख कार्कीसहितका जनप्रतिनिधिहरु संक्रमितहरुको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र उनीहरुमा आत्मवल बढाउने र हौसला प्रदान गर्ने काम गर्नुभएको छ । खासगरी संक्रमितहरुमा उच्च मनोबल आवश्यक पर्ने भएपछि नगर प्रमुख कार्की अहिले प्रत्येक दिन होम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा गएर आवश्यक उनीहरुसंग परामर्श गर्ने, मनोबल बढाउने र छिटै निको भएर सामान्य जीवनयापनका लागि शुभकामना दिने गर्नुभएको छ ।
नगर प्रमुख कार्की होम क्वरेन्टिनका साथै बनकट्टामा रहेको पदमपाणि योग चिकित्सालयमा निर्माण गरिएको आइसोलसनमा पनि दैनिक जाने र त्यहाँ रहेका संक्रमितहरुसंग भेटघाट गर्ने गर्नुभएको छ । यस्तै उहांले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्नसक्ने दुव्र्यवहार जस्ता क्रियाकलाप अन्त्य गर्न आग्रह समेत गर्नु भएको छ ।
यस्तै सैनामैना नगरपालिकाले पीसीआर रिपोर्टको अभावमा दीर्घ रोगका बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसको सहजताका लागि नगरपालिकाले निशुल्क पीसीआर परिक्षणको ब्यवस्था गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न परिवारका सदस्य एवम् विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका डायलिसिस, क्यान्सर लगायतका बिरामीहरुको निशुल्क पीसीआर परिक्षणको ब्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म नगरका २२ जना बिरामीहरुको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको रिपोिर्ट नेगेटिभ आएको छ । नगरमा रहेका विपन्न परिवार तथा दिर्घ रोगका बिरामीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै नगरपालिकाले उपप्रमुख बिना रानाको नेतृत्वमा नगरपालिकाका विभिन्न ठाउँहरु बनकट्टा, रानिबगिया, मुर्गिया, बुद्धनगर, कलौनी, बाँसगढी, सालझण्डी क्षेत्रका बजारको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको उपप्रमुख रानाले बताउनु भयो ।
नगर क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा प्रवाह गर्न नगरपालिकाले आग्रह गरेको छ ।
उपप्रमुख रानाको नेतृत्वमा सैनामैना उद्योग वाणिज्य संघका प्रतिनिधि, सैनामैना व्यापार संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय रन्यौरा र इलाका प्रहरी कार्यालय सालझण्डीका प्रतिनिधिहरुको सहभागितामा बजार अनुगमन गरिएको छ ।