बुटवल, २४ भदौ । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत १ वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्दै विद्यार्थीहरुले तत्काल पदाधिकारीको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्वविद्यालय अभिभावक विहिन हुदाँ सन्तानलाई परेको समस्या समाधानमा थप जटिलता भएको भन्दै यस विषयमा गम्भीर बन्न विद्यार्थीहरुले सरकारसंग माग गरेका छन् ।
लुम्बिनी ईन्जिनियरिङ कलेज रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरुले बुधवार कलेजमा पत्रकार सम्मेलन गरि विश्वविद्यालय १ वर्ष देखि अभिभावक विहिन विश्वविद्यालय मातहतका क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा कलेजका विद्यार्थी रोशन घिमिरेले कोरोनाले थला पारेको शैक्षिक क्षेत्रमा १ वर्ष देखि अभिभावक नहुंदा आफ्ना पीडा सुनाउने व्यक्तिको अभाव रहेको गुनासो गर्नुभयो । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने विश्वविद्यालयमा १ बर्ष सम्म उपकुलपति सहित १२ जना जिम्मेवार पदाधिकारीको नियुक्ति नहुनुले सरकार शिक्षा क्षेत्रमा कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट भएको विद्यार्थी घिमिरेले बताउनु भयो ।
पोखरा विश्वविद्यालय मातहतमा मुलुक भरी ६८ वटा कलेज संचालनमा रहेका छन् भने ति कलेजमा ३० हजार ७ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
पत्रकार सम्मेलनमा लुम्बिनी ईन्जिनियरिङ कलेजका निर्देशक तुल्सी सापकोटाले शिक्षा क्षेत्रमा राजनीति नर्गन सरकारलाई आग्रह गर्नुभयो । विश्वविद्यालयमा रिक्त पदाधिकारीहरुको तत्काल नियुक्ति हुनुपर्नेमा जोड दिदै उहांले पदाधिकारीको अभावमा पोखरा विश्वविद्यालय मातहतका कलेजमा अध्ययनरत विद्यार्थीको पढाई र परीक्षा प्रणाली नै अस्तव्यस्त बन्न पुगेको गुनासो गर्नुभयो ।
