बुटवल, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । ऋषि पञ्चमीको ब्रतको विधि अनुसार आज स्नान गरी पूजा आजा गरेपछि महिलाहरुले नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला खाने गर्दछन् ।
ऋषिपञ्चमीका दिन मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर र बढि भिडभाड गरेर पूजा गर्न रोक लगाइएको छ ।