बुटवल, २ भदौ । यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था आउन लागेको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ ।
अत्यावश्यक सेवा अन्तर्गत पर्ने पेट्रोलियम पदार्थको सहज आपुर्ति र अभाव हुन नदिने वातावरण निर्माण र उचित निकास सहित समस्या समाधानका लागि एशोसिएसनले आयल निगम संग आग्रह गरेको छ ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी पछिल्लो समय नेपाल आयल निगम पाँच नम्वर प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गत शनिवारदेखि बजार क्षेत्रमा पेट्रोलियम पदार्थको सप्लाई बन्द भएको जनाउनु भएको छ । लुम्विनी अञ्चलका ६ जिल्ला, स्याङ्गजा र वाग्लुुङ सहित ८ जिल्लाका ३११ पेट्रोलपम्पहरुमा पेट्रोलियम पदार्थ सप्लाई गर्दै आएको आयल निगम भलवारीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि संगै पेट्रोलियम पदार्थको सप्लाई वन्द गरिदा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने अवस्था देखिएकोले यस्तो अवस्था आउन नदिनका लागि निगमले उचित ब्यवस्थापन गरी पेट्रोलियम पदार्थको अभाव हुन नदिने वातावरण निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तराईका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा नेपाल आयल निगमको अमलेखगन्ज डिपोवाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सप्लाई दने प्रयाश गरिरहेको भएपनि पहाडी ५ जिल्लामा भने सप्लाईको समस्या देखिएकोले पहाडी जिल्लामा समेत पेट्रोलियम पदार्थको सहज आपुर्ति गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ ।
पहाडी ५ जिल्लामा अमलेखगन्ज डिपोवाट आउने गाडीहरुवाट आपुर्ति गर्न भौगोलिक हिसावले नसकिने र पहाडी जिल्लामा चल्ने ट्याँकरहरुमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ उपलब्ध नगराउदा पहाडी क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुने अवस्था सिर्जना भएकाले यो अवस्था आउन नदिनका लागि विशेष भूमिका निर्वाह गर्न एशोसिएसनले आयल निगम र सम्वन्धित सरोकारवाला निकाएको ध्यानाकर्षण गराएको छ ।
देशमा फैलिरहेको कोरोना संक्रमणको उच्च जोखिम र विषम परिस्थितिका वावजुद यस क्षेत्रका पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक बस्तु अन्तर्गत पर्ने पेट्रोलियम पदार्थ नेपाल आयल निगमसंग समन्वय गर्दै सुरक्षा मापदण्ड अपनाएर विक्री वितरण गर्दै आईहेको अवस्था रहेकाले अहिलेको अवस्थामा कोरोना संक्रमणको जोखिम बाट बच्न उच्च सतर्कता अपनाउदै आफ्नो जिम्मेवारी वहन गर्न एशोसिएसन तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
