तिलोत्तमा, २१ साउन । कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको सोमबार रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागि बताएका छन् ।
तिलोत्तमा नगरपालिका वार्डनम्बर–१० शान्तिनगरमा स्वतस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग गरिएको सम्वाद कार्यक्रमका सहभागिले यस्तो निष्कर्ष निकालेका हुन् ।
गाईवस्तुका लागि मकैको बोटबाट बनाइने गुन्द्रुक उत्पादक “उत्तम साइलेज कम्पनी” को सहकार्यमा सञ्चालित “समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद” कार्यक्रममा सहभागिहरुले संघीय, प्रदेश र स्थानीय सरकारले कृषिक्षेत्रलाई वास्तवमै उठान गर्न नसकिरहेको बताए ।
करोडौं रकमका विविध सुविधा भोग्ने तीनवटै सरकारका कृषि विभागले साधारण कृषि औजार, प्रशिक्षण र कृषि सामाग्री समेत निकासा गर्न नसकेको उनीहरुले टिप्पणि गरे ।
धानखेतमा माछापालक समूहका अध्यक्ष रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता डा. दामोदर भूसालले जनसेवकहरूका व्यवहार सामन्ती चिन्तनबाट ग्रसित भएको भन्दै त्यसलाई परिवर्तन गर्न किसानहरू नै जाग्नुपर्ने बताउनुभयो । सरकारले जारी गर्ने नीति तथा कार्यक्रम सरोकारवाला किसानहरूको सहभागिता र संवादसहित आउनुपर्नेमा त्यस्तो नहुँदा सरकारका कार्यक्रम प्रभावहीन भएको उहांले बताउनुभयो ।
सो अवसरमा उत्तम साइलेज कम्पनीका प्रोप्राइटर भेषराज पाण्डेले मकैखेती गर्ने तरिका, त्यसबाट हुने उपयोगिता र अधिक नाफा आर्जनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
माछापालक समूहका सचिव शिव ढकालको सञ्चालनमा भएको कार्यक्रममा उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले समय र प्रविधिको सदुपयोगबाट कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताउनुभएको थियो ।
भौतिक दुरी र सुरक्षा सतर्कता सहित स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, घनसिंह पुन, कृष्णबहादुर श्रेष्ठ, सञ्चारकर्मी भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायत कार्यक्रममा ३७ जना कृषकहरूको सहभागिता रहेको थियो ।
