बुटवल, २० साउन । गुट्का ब्यापारी संग महिनावारी रुपमा घुस लिँदै गर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झा संग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट मंगलवार दिउसो रानालाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।
