भैरहवा, १६ साउन । राइजिंग क्लब नेपाल, सिद्धार्थनगर १२, भैरहवा रुपन्देहीले लुम्बिनी रोडमा रहेको सिद्धार्थ बालगृहलाई सहयोग गरेको छ । क्लबले साउन १५ गते खीर दिवसको अवसर पारेर बालगृहमा रहेका बालबालिकासँग सामूहिक भोजन समेत गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो ।
क्लबले बालगृहलाई १२ थान झुल, केही आर्थिक सहयोग र बालबालिकालाई चकलेट वितरण गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले सामाजिक क्षेत्रमा क्लबको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहांले यस्ता सामाजिक संस्थाको सानो सहयोगबाट बालबालिकाको पठनपाठन र जीवन यापनमा ठूलो योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सिद्धार्थनगर १२ का वडा सदस्य सरोज ठकुरीले संघसंस्थाको सहयोगबाट चलेको बालगृहमा आएर सामूहिक भोजनका साथै सहयोग गर्ने क्लब परिवारप्रति विशेष आभार व्यक्त गर्नुभयो ।
बालगृहकी संचालक कृष्णामाया गुरुङले यस्ता धेरै संघसंस्थाको सहयोगबाट नै आफूलाई संस्था संचालनमा टेवा पुगेको बताउनुभयो । उहांले अन्य स्रोत केही नभएकाले विशुद्ध सामाजिक सहयोगबाटै बालबालिकाको खानपान र पठनपाठन गराउँदै आएको समेत प्रष्ट पानुभयो ।
कार्यक्रम संयोजक मिलन पौडेलले बालगृहसँग आगामी दिनमा पनि सहकार्य गरी सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । बालगृहमा १९ जना बालबालिका रहेका छन् । उनीहरुको पालनपोषण र पठनपाठनमा भैरहवा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् ।
