बुटवल, १२ साउन । तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथिति बिरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ ।
ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कर्मचारी नियुक्त गरी जनताले तिरेको करको दुरुपयोग गरेको, ९ करोड बढिको बेरुजु रहेको, राजनीतिक प्रभावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिका बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् ।
ऐन कानुन मिचेर नियुक्त गरिएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नु पर्ने, ९ करोड बढिको बेरुजुको हिसाव किताव स्पष्ट पार्नु पर्ने र प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न तरुण दलले माग गरेको छ ।
बिरोध प्रदर्शन कार्यक्रममा नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरेको आरोप लगाउनु भयो । राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी बितरण गर्न खोजेको, वडा नं. ११ को बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले नै अतिक्रण गरी भवन बनाइरहेको भन्दै दलका अध्यक्ष क्षेत्रीले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाइ रहेको र नगरपालिकाको दुइ बर्ष अघिकै ९ करोड ४० लाख बेरुजुको हिसाव किताव सार्वजनिक गर्न माग गर्दै तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्शनमा सहभागि तरुण युवाहरुले नगरपालिकामा भएको बेथिति र अनियमितताको अन्त्य गर्न माग गर्दै ६ लेन सडकको बिचमा राखिएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाइ कारबाहीकालागि पहल गर्न समेत माग गरेका छन् । ९ करोड ४० लाख रकम बेरुजु खोई ? बुद्ध मुर्ती फोड्ने र सडकका रुख काटने अपराधी खोइ ? पुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन, ऐन कानुन बिपरितका नियुक्ति खारेज गर, सार्वजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले प्रदर्शन पछि आफुले बोकेका प्लेकार्डहरु नगरपालिकाको गेटमा टांसिदिएका छन् ।
